काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी (नेवि) सङ्घले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटा ‘हराएको’ भन्दै खोजी गरेको छ ।
नेवि सङ्घले मंगलबार विश्वविद्यालय परिसरमा दिउँसै मैनबत्ती बालेर ‘भिसी हराएको भन्दै’ खोजी गरेको छ ।
विश्वविद्यालयको परीक्षा प्रणाली एकदमै फितलो हुँदै गएकाले विश्वविद्यालयले हालसम्म प्रदान गरेका प्रमाणपत्र तथा समग्र विश्वविद्यालयको विश्वसनीयतामाथि ठूलो प्रश्न चिह्न खडा भएको सङ्घको आरोप छ ।
सङ्घले एम.ए.तेस्रो सेमेस्टरको ‘पब्लिक इकोनोमिक्स’ र प्रथम सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिक्स’ विषयका प्रश्न पत्रहरू अघिल्लो सालको दोहोरिएकोमा छानबिन नगरेको भन्दै उपकुलपतिको विरोध गरेको हो ।
साथै, बिबिए छैटौँ सेमेस्टरको ‘अर्गनाइजेसन विह्याभियर’ विषयको बोर्ड परीक्षामा निजी कलेजको प्रि-बोर्डको प्रश्नपत्र ल्याएर जस्ताको त्यस्तै सोध्नु तथा बिबिएकै अन्य चारवटा पेपरहरूमा त्रुटि देखिएकोमा छानबिन समितिले दिएको प्रतिवेदन सार्वजनिक नगरेर दोषीलाई लुकाउन खोजेको सङ्घले आरोप लगाएको छ ।