काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई सन् २०२६ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने बताएका छन् ।
बुधबार लगानी बोर्डको दिगो पूर्वाधार लगानी फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पूर्वाधार विकास र आर्थिक स्तरोन्नति गर्दै सन् २०२६ सम्म विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने बताएका हुन् ।
उनले वर्तमान सरकारले १५औँ पञ्चवर्षीय योजनाअनुसार पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।
प्रधानमन्त्री देउवाले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने राष्ट्रिय नीति तथा योजना रहेको बताए । उनले दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यकता पर्ने बताए । उनले त्यसका लागि निजी क्षेत्र तथा वैदेशिक लगानीकर्ताको सहयोगको आवश्यकता रहेको औँल्याए । उनले मुलुकमा पूर्वाधार विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्दै लगानी बढाउन आग्रह गरे ।
उनले नेपालमा सार्वजनिक निजी साझेदारी मोडलमा ठुलो लगानी गर्न सकिने अवस्था रहेको बताए । प्रधानमन्त्री देउवाले लगानी बोर्डले ३३ वटा आयोजनाका लागि ९ अर्ब डलर बराबरका योजना स्वीकृत गरेको भन्दै तीमध्ये २० वटा ठुला जलविद्युत् परियोजना रहेको बताए ।
उनले भने, ‘सरकारले १५औँ पञ्चवर्षीय योजनालाई प्राथमिकता दिएर पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । सरकारले राष्ट्रिय नीति बनाएर २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने योजना बनाएको छ । कोभिड महामारीका कारण दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यक रहेको छ । नेपाललाई २०२६ सम्म विकासशील राष्ट्रमा स्तरोन्नति गरी आर्थिक विकासमा सुधार गर्ने योजना रहेको छ । मुलुकमा पूर्वाधार विकास गर्न निजी क्षेत्रका लगानी महत्त्वपूर्ण रहन्छ भने वैदेशिक लगानी पनि आवश्यक भएकाले सबैलाई लगानी गर्न आग्रह छ । नेपालमा सार्वजनिक निजी साझेदारी मोडलमा ठुलो लगानी गर्ने सकिने छ । लगानी बोर्डले लगानीको क्षेत्रमा लगानी गर्ने लगानीकर्तालाई सहजता प्रदान गर्नेछ । लगानी बोर्डले ३३ वटा आयोजनाका लागि ९ अर्ब बराबरको डलरका याेजना स्वीकृत गरेको छ, जसमा २० वटा ठुला जलविद्युत् परियोजना रहेका छन् ।’