काठमाडौँ । लोकगायिका अमृता श्रीपाल र जापानस्थित धौलागिरि दोहोरी साँझका सञ्चालक धनबहादुर थापा (धन थापा)बीचको विवाद सहमतिमा टुंगिएको छ ।
दोहोरी सञ्चालक थापाले आफूमाथि पारिश्रमिक नदिएको र भौतिक आक्रमण गरेको गरेको भन्दै गायिका श्रीपालले केही दिनअघि राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान, जापान शाखामा निवेदन दिएकी थिइन् ।
सोही निवेदनबारे बिहीबार दुवै पक्षबीचको छलफलमा थापाले आफ्नो गल्ती स्विकार्दै आत्मालोचना गरेपछि विवाद टुंगिएको हो । थापाले श्रीपाललाई दिनुपर्ने बाँकी पारिश्रमिक ९ लाख ऐन शुक्रबारसम्म बैङ्कमा जम्मा गरिदिने र नेपाल फर्किने टिकटको व्यवस्था गरिदिने सहमति भएको छ ।
प्रतिष्ठान जापान शाखाका सदस्य कुलवीर थापा, एनआरएनए खान्साईका संयोजक दिलीप शर्मालगायत २५ जनाको रोहबरमा भएको छलफलमा दुवै पक्षले यस विषयलाई आइन्दा कतै पनि नउठाउने समेत सहमति भएको छ ।