काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताएका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रम आयोजना गरी नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रस्ताव गर्नुभएको उल्लेख गर्दै आफूले पनि खेलकुद विश्वविद्यालय खोल्नका लागि सुरुवात गर्ने योजना बनाएको बताए । उनले कोरोनाका कारण नेपालको आर्थिक अवस्था राम्रो नभएको बेलामा समेत खेलकुद विश्वविद्यालय खोल्ने सोच बनाएको बताए । प्रधानमन्त्री देउवाले खेलकुद विश्वविद्यालयले आगामी दिनमा युवाहरूको खेलप्रति आकर्षण बढ्ने विश्वास लिएको बताए ।
सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँमा राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको हो । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रूपमा विजेता ट्रफी आफूसँग राख्न पाउनेछ । नवौँ राष्ट्रिय खेलकुदको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागीय टोलीमा पुर्याइनेछ ।