काठमाडौँ । प्रतिनिधि सभाको कार्यकाल आज राति १२ बजे सकिँदै छ। २०७४ मा निर्वाचित सांसद्हरुको अन्तिम संसद् बैठक आज दिउसो १ बजे बस्दैछ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न शुक्रबार राष्ट्रपति विद्यादेवी भणडारीलाई सिफारिस गरिसकेको छ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको बन्दसूची पेस गर्ने कार्यतालिका असोज २ र ३ मा रहेकाले असोज १ सम्म कार्यकाल मानेर सदनका पछिल्लो बैठकमा बोल्ने सांसद्हरुले विदाइ सम्बोधन गर्ने गरेका थिए ।
शनिबार राति १२ बजेबाट बर्खे अधिवेशन अन्त्यसँगै प्रतिनिधिसभा निष्क्रिय हुनेछ। निर्वाचन आयोगले समानुपातिक बन्दसूचीसम्म कार्यकाल रहेको विगतको अभ्यासको आधारमा असोज १ सम्म कार्यकाल रहने जानकारी संसद् सचिवालयलाई दिएको छ। तर सभामुख अग्निप्रसाद सापकोटाले कार्यकाल अन्त्यको घोषणा गरेका छैनन्।
सदन सकिएलगत्तै सांसदहरू चुनावमा केन्द्रित हुनेछन्। प्रतिनिधिसभा निष्क्रिय भएसँगै यहाँ उत्पत्ति भएका विधेयक पनि निष्क्रिय भएका छन्।
०७४ मंसिर १० र २१ मा निर्वाचन भएर फागुन २१ मा कार्य प्रारम्भ गरेको संघीय संसद्ले यो कार्यकालमा १५३ विधेयक दर्ता भएकोमा नागरिकतासहित १०२ कानुन बनाएको छ।