काठमाडौँ । कञ्चनपुरमा पहिचान नखुलेको ३ वटा शव प्रहरीले अन्त्येष्टि गरेको छ । लालझाडी गाउँपालिका–१ को चिनी मिल नजिकै उखुबारीमा भेटिएका दुईवटा र पुनर्बास नगरपालिका-१० को दोदा नदी नजिकै भेटिएको एउटा शवको पहिचान नखुलेपछि गाडिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले सडेको अवस्थामा भेटिएको शवको पहिचान गर्न नसकेपछि प्रक्रिया पुर्याएर गाडिएको जानकारी दिए ।
आइतबार साँझ शव भेटिएपछि प्रहरीले चिकित्सकको टोली घटनास्थलमै लगेर डिएनए परीक्षणका लागि नमूना सङ्कलन गरेको थियो । त्रिभुवन बस्ती प्राथमिक स्वास्थ्य केन्द्रका डा. मोसा तामाङ नेतृत्वको टोलीले शवको वैज्ञानिक परीक्षणका लागि नमूना सङ्कलन गरेको प्रहरी निरीक्षक मल्लले बताए ।
प्रहरीका अनुसार चुरा र कपडाका आधारमा दुई वटा शव महिला र एउटा पुरुषको भएको खुले पनि उनीहरूको नाम र ठेगाना पहिचान भएन । शनिबार बाढीले ती शव अन्यत्रैबाट बगाएर ल्याएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।