काठमाडौँ । पछिल्ला दिनहरूमा पोखराको एटिएम मेसिन असुरक्षित हुँदै गएका छन् । दिनहुँजसो एटिएम मेसिन फोडिएका छन् ।
सोमबार र मंगलबार लगातार २ वटा बैङ्कका एटिएम मेसिन फुटाउन प्रयास गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । सोमबार पोखरा ९ मा रहेको कृषि विकास बैङ्कको एटिएम फुटाएर नगद चोर्दै गरेको अवस्थामा २ जनालाई पक्राउ गरेको हो । मेसिन फुटाएर पैसा चोरिरहेको सूचना प्रहरीले पाएपछि तत्कालै पक्राउ गरिएको हो ।
उक्त घटनामा पोखरा १६ बस्ने २२ वर्षका सन्दीप बस्नेत र १९ वर्षका अनीश रानामगर पक्राउ परेका छन् । उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थपेर अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।
यस्तै, मंगलबार पोखरा ६ लेकसाइडमा रहेको एनएमबि बैङ्कको एटिएम फुटाउन लागेको अवस्थामा प्रहरीले अर्का एकजनालाई पक्राउ गरेको छ । खुकुरीले मेसिन फुटाएर पैसा चोरी गर्न लागेको अवस्थामा धादिङको त्रिपुरा सुन्दरी १ घर भई पोखरा ८ बस्दै आएका २५ वर्षीय मनोज कुमाल पक्राउ परेका हुन् । उनलाई पनि कास्की अदालतबाट ७ दिन म्याद थपेर अनुसन्धान थालिएको छ ।
कास्कीमा हरेक महिना एटिएम फुटाउने घटना बढिरहेको छ । अहिले चोरको निसानामा बैङ्कका एटिएम परेका छन् ।