काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौडेलले विश्वशान्ति, कोभिड महामारी, भूराजनीतिक तनाव, असमानता, वातावरण परिवर्तनजस्ता पक्ष विश्वसामु अहिले चुनौतीका रूपमा देखा परेको बताएका छन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको ७७ औँ साधारण सभामा भाग लिने क्रममा परराष्ट्र सचिव पौडेलले विश्वमा देखिएका चुनौतीको सामना गर्न अन्तर्राष्ट्रियस्तरमा बलियो ऐक्यबद्धतासहित सहयोग र सहकार्य हुनुपर्ने धारणा व्यक्त गरे ।
कोभिड महामारी नियन्त्रण गर्नु अहिले विश्वको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै उनले मानव जीवन रक्षाका लागि आवश्यक कोभिडविरुद्धको खोप समान रूपमा विश्वभर उपलब्ध हुनुपर्नेमा जोड दिए ।
लक्षित जनसङ्ख्याको ९६ प्रतिशतभन्दा बढी जनतालाई खोप दिन नेपाल सफल भएको चर्चा गर्दै परराष्ट्र सचिव पौडेलले कोरोनाविरुद्धको खोप अभियानमा नेपाललाई सहयोग गर्ने छिमेकी देश भारत र चीनसहित विकास साझेदार देश र निकायलाई धन्यवाद दिए।
विश्वमा देखिएका उल्लिखित चुनौतीबाट विशेष गरी अतिकम विकसित र कम विकसित देश प्रभावित भई दिगो विकासको लक्ष्यको उपलब्धि हासिल गर्न कठिन हुने धारणा व्यक्त गर्दै संरचनागत आर्थिक रूपान्तरण, बृहत् लगानी र क्षमताको अभाव तथा दिगो विकासका पक्षमा लिएका लक्ष्य पूरा गर्न नसके पनि विकासको पथमा नेपाल लम्किरहेको उनले बताए।
सचिव पौडेलले बाह्य लगानी वृद्धि गर्न, ऋण सहयोगमा सहुलियत दिन, व्यापार प्रवर्द्धनमा सहयोग गर्न र विकास निर्माणको पक्षमा सहयोग अभिवृद्धि गर्न विश्व समुदायको ध्यानाकर्षण गरे ।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले स्कटल्यान्डको ग्लास्गोमा सम्पन्न कोप बैठकलाई सम्बोधन गर्ने क्रममा नेपाललगायत विकसित देशहरूले बेहोर्नुपरेको वातावरणीय सङ्कटको सामना गर्न र सन् २०४५ सम्म शून्य इमिसन प्राप्त गर्ने नेपालको प्रतिबद्धता पूरा गर्न बाह्य सहयोग आवश्यक रहेको भन्ने विषय स्मरण गर्दै सचिव पौडेलले नेपालले त्यसबेला प्रतिबद्धता गरेको वातावरण परिवर्तनका पक्षमा गरिने कार्यक्रम कार्यान्वयनका लागि यथाशक्य छिटो सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
उनले नेपाल सधैँ शान्ति, सुरक्षा, निःशस्त्रीकरणको पक्षमा रहेको छ भनी पछिल्ला दिनमा विश्वमा सैनिक शीर्षकमा खर्च वृद्धि भइरहेकामा चिन्ता व्यक्त गर्दै नेपालले जहाँ र जुनसुकै किसिमका आतङ्कवादी गतिविधिको भर्त्सना गर्ने बताए ।
नेपालको संविधानले मानव अधिकारको पूर्ण प्रत्याभूति गरेको चर्चा गर्दै उनले मौलिक स्वतन्त्रता, समावेशीकरण र सहभागिताको सिद्धान्तलाई नेपाले अङ्गीकार गरेको स्पष्ट पारे । विस्तृत शान्ति सम्झौता र समयसापेक्ष रूपमा अन्तर्राष्ट्रिय समुदायमा जनाइएको प्रतिबद्धताअनुसार पीडित पक्षलाई न्याय दिने पक्षमा नेपाल रहेको सचिव पौडेलले बताए।
उनले युक्रेन, अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, यमन र मध्यपूर्वको अवस्थाबारे नेपाल जानकार रहेको बताउँदै शान्ति सुरक्षा र स्थायित्व सुनिश्चितताका पक्षमा सहभागी हुन विश्व समुदायसँग अनुरोध गरेका छन् ।
संयुक्त राष्ट्र सङ्घको शान्ति, सुरक्षा र स्थायित्व कायम गर्ने अभियानमा नेपालको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै ७७ औँ महासभामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नुहुने परराष्ट्र सचिव पौडेलले राष्ट्र सङ्घीय शान्ति सेनामा खटिने सुरक्षाकर्मीलाई आवश्यक तालिम र स्रोत साधनको व्यवस्था हुनुपर्नेमा जोड दिएको संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।