काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गरेका छन् ।
दसैँ, तिहार, छठ, नेपाल संवत्, ल्होसार लगायत चाडपर्वहरूको अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले प्रतिगमन विरोधी शक्तिलाई मत दिई सविधान, गणतन्त्र, सङ्घीयताको रक्षा र सुदृढीकरणका लागि अपिल गरेका हुन् ।
नेपाल बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक एवं बहु धार्मिक मुलुक भएको उल्लेख गर्दै उनले देशको भाषा, संस्कृति र सभ्यताहरूको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु सबैको दायित्व भएको बताएका छन् ।
नेपालीहरूको मौलिक विशेषता भनेकै विविधतामा एकता रहेको उनको भनाइ छ । उनले सांस्कृतिक पर्वहरूले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास व्यक्त गरेका छन् ।
अध्यक्ष प्रचण्डले असत्य माथिको सत्यको विजयका रूपमा मनाइने नेपाली सांस्कृतिक पर्वहरूले सबैमा उत्साह, उमङ्ग र राष्ट्रियताको जगेर्ना गर्ने उत्प्रेरणा पैदा गरोस् भन्दै शुभकामना दिएका छन् ।