एजेन्सी । स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले आफ्नो अपराजित यात्रा जारी राखेको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले मोलोर्कालाई १-० ले पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लियो।
अब बार्सिलोना कम्तिमा रियलको खेल अघिसम्म लिग अङ्क तालिकाको शीर्ष स्थानमा रहने छ। रियलले आइतबार ओसासुनासँग आफ्नै मैदानमा प्रतिस्पर्धा गर्दै छ।
बार्सिलोनाको जितमा पहिलो हाफमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले २०औँ मिनेटमा अन्सु फातीको पासमा गरेको एक मात्र गोल निर्णायक भएको थियो। जितसँगै शीर्षस्थानमा उक्लिएको बार्सिलोनाको ७ खेलबाट १९ अङ्क जोडेको छ। एक खेल कम खेलेको रियल म्याड्रिडको १८ अङ्क छ। पराजित मलोर्का ८ अङ्क जोडेर १०औँ स्थानमा छ।
ला लिगाकै अर्को खेलमा एट्लेटिको म्याड्रिडले सेभियालाई २-० ले पराजित गर्दा एट्लेटिकोको जितमा मार्कोस लोरेन्टे र अल्भारो मोरावाले गोल गरेका थिए। जितसँगै एट्लेटिको ७ खेलबाट १३ अङ्क जोडेर पाँचौँ स्थानमा उक्लिएको छ। सेभिया ५ अङ्क जोडेर १६औँ स्थानमा रहेको छ।