म्याग्दी । प्रतिकूल मौसमका कारण धवलागिरि आधार शिविर (बेस क्याम्प) मा फसेका १६ मध्ये मङ्गलवार १४ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनीहरूमा पर्यटक गाइड, खच्चड चालक र भरिया छन् ।
५ जना शेर्पा गाइडलाई पोखरा पुर्याइएको छ भने मुस्ताङ मार्फाका खच्चड चालकहरू माइकल परियार, किरण परियार, भरियाहरू सन्तोष तामाङ र धनराज तामाङलाई धवलागिरि–७ ताकमको हिलापोखरीमा ओरालिएको छ ।
मार्फाकै बुद्धि, कुमार, प्रकाश, वीरबहादुर र सुकलाल परियारलाई भने इटली क्याम्प रहेको ताकममा ओरालिएको माइकलले जानकारी दिए । धवलागिरि बेस क्याम्पमा अझै २ जना गाइड छन् । धवलागिरि आरोहणका लागि लगेका सामग्री ल्याउन उनी हेलिकोप्टर पर्खेर बसेका छन् ।
बङ्गालको खाडीमा विकसित भई नेपाल प्रवेश गरेको मनसुनी वर्षासँगै हिमाली क्षेत्रमा लगातार ४ दिन हिमपात भएपछि त्यहाँ पुगेका पर्यटक, सहयोगी र मजदुर हिउँमा फसेका थिए ।
आरोहणमा गएका भारतीय, कोरियाली र जापानी आरोहीका सामग्री मुस्ताङको मार्फाबाट ४२ वटा खच्चडमार्फत बेस क्याम्पसम्म ढुवानी गरिएको थियो । याक खर्क, हिडनभ्याली, फ्रेन्च पास हुँदै बेस क्याम्प पुर्याई फर्कने क्रममा भारी हिमपात भएपछि उनीहरू फ्रेन्सपासमै फसेका थिए ।
‘बेस क्याम्पमा आरोहण सामग्री पुर्याएर फर्कने क्रममा फ्रेन्च पासमा पुग्दा भारी हिमपात भयो । चार दिन खानापानी बिनै त्यहीँ बस्यौँ । हिमपात रोकिएपछि बेस क्याम्प पुग्यौँ र शेर्पा गाइडको क्याम्पमा आश्रय लिएर बाँच्यौँ । हाम्रा सबै खच्चड उहीँ मरे,’ उद्धार गरिएका माइकलले भने, ‘हामी पुग्दाको २ दिनअघि हिडनभ्यालीमा हिम पहिरोमा परेको अवस्थामा टेन्टहरू देखेका थियौँ । उनीहरू जापानी पर्वतारोहीका गाइड रहेछन् । हिम पहिरोमा पर्यटक बचेछन्, गाइड पुरिएर मरे भन्ने सुनेको हो, नाम थाहा भएन ।’
धवलागिरि आरोहणमा गएका आरोही र केही गाइड धवलागिरि–३ मुदी बगरा, दोभान, इटली क्याम्प हुँदै र भरियाहरू मुस्ताङको बाटो हुँदै बेस क्याम्प उक्लेका थिए ।