काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको रु ७३ करोडभन्दा बढी भुक्तानी गरेको छ ।
निगमले जहाज खरिद बापत दुई कोषलाई तिर्नुपर्ने ऋण दायित्वको भुक्तानी अन्तर्गत पछिल्लो पटक असोज ३१ गते रु ७३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको निगमका सह-प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए ।
निगमका अनुसार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोवडी जहाज खरिदको सावाँ र ब्याज वापतको रु.५३ करोड नौ लाख ५५ हजार २८१ भुक्तानी गरिएको छ ।
त्यसैगरी, नागरिक लगानी कोषको हकमा पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको रु २० करोड किस्ता वापतको रकम भुक्तानी गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निगमले यसअघि गत आसार ३० गते दुबै कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको रु एक अर्ब ३५ करोड भुक्तानी गरिएको जनाएको छ । पछिल्ला दिनमा नियमित उडान, अकुपेन्सी दरमा सुधार आई आम्दानीमा वृद्धि भएको निगमले नियमितरुपमा ऋण दायित्वको भुक्तानी गर्न सफल भएको सह-प्रवक्ता घिमिरेले बताए। उनले अन्तरराष्ट्रिय उडानका चारवटै जहाज पूर्णक्षमतामा नियमित उडान भइरहेकाले निगमको आम्दानीमा सुधार आएको बताए। निगमले वाइड बडी ए-३३० र न्यारोबडी ए-३२० जहाज खरिदका दुबै चरणमा गरेर करिब रु ३७ अर्ब ऋण लिएको थियो । सावा र ब्याज बढेर भुक्तानी दायित्व झण्डै ४५ अर्ब पुगेको बताइन्छ