काठमाडौँ । श्रीलङ्का र नेदरल्याण्ड्स आइसिसी टी-२० विश्वकपको सुपर १२ मा प्रवेश गरेका छन् ।
बिहीबार भएको दोस्रो खेलमा नामिबिया युएईसँग ७ रनले पराजित भएसँगै नेदरल्याण्ड्स सुपर १२ मा पुगेको हो ।
यसअघिको पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएर श्रीलङ्का सुपर १२ पुगेको थियो ।
अङ्क तालिकाका आधारमा एक एक खेल मात्र जितेका नामिबिया र युएई प्रारम्भिक चरणबाट नै बाहिरिएका छन् ।
बिहीबारको दोस्रो खेलमा युएईले दिएको १४९ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४१ रन बनायो ।
नामिबियाका लागि डेबिट वियसले सर्वाधिक ५५ रन बनाए । उनले ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । रुबिन टुर्म्पिलमान २५ रनमा अविजित रहे ।
युएईका लागि वसिल हमिद र जोर खानले समान २ विकेट लिए ।
यसअघि सिमोन्ड स्टेडियममा पहिले ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १४८ रन बनायो ।
उसका लागि ओपनर मोहम्मद वासिमले सर्वाधिक ५० रन बनाए । उनले ४१ बलमा १ चौका र ६ छक्का प्रहार गरे । कप्तान रिज्वान ४३ र वसिल हमिद २५ रनमा अविजित रहे ।
नामिबियाका लागि डेबिट वियस, वर्नाड स्कोल्ट्ज र वेन सिकोन्गोले समान १ विकेट लिए ।