काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको सरकार आएपछि काठमाडौँको कलङ्कीदेखि चाबहिलको धोबीखोलासम्म ६ लेन सडक निर्माणले तीव्रता पाउने बताएका छन् ।
काठमाडौँ क्षेत्र नम्बर ५ मा बिहीबार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुआब्जा र सडक खाली गर्ने काम सकिए पनि एमाले सरकारबाट हटेपछि सडक विस्तारको काम रोकिएको बताए ।
सुरुमा कलङ्कीदेखि महाराजगञ्ज चोकसम्म मात्र सडक निर्माण गर्न लागेपनि आफूले चिनियाँ पक्षसँग पहल गरेका कारण धोबीखोलासम्म निर्माण हुन लागेको उनले जानकारी दिए । वरिष्ठ उपाध्यक्ष पोखरेलले धोबीखोला करिडोर र विष्णुमती करिडोर निर्माण पनि छिट्टै सुरु हुने विश्वास व्यक्त गरे । धोबीखोला पुगेपछि सडक रातो पुलतिर डाइभर्सन गरेर गौशालातिर लैजाने योजना गरेको उनले बताए ।
कार्यक्रममा सहभागीहरूले गठबन्धनका नेताको घर परेका कारण कलङ्की धोबीखोला ६ लेन निर्माण रोकिएको भन्दै पोखरेलसँग गुनासो गरेका थिए ।