काठमाडौँ । अस्ट्रेलियामा जारी आइसिसी ट्वान्टी-२० विश्वकपअन्तर्गत बुधबार वर्षाले प्रभावित बनेको खेलमा आयरल्यान्डले इङ्गल्यान्डमाथि ५ रनको जित निकालेको छ । आयरल्यान्डले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको इङ्गल्यान्डले १४.३ ओभरमा पाँच विकेट गुमाएर १०५ रन बनाउँदा वर्षाका कारण खेल सम्भव नभएपछि डि/एल पद्धतिअनुसार आयरल्यान्ड पाँच रनले विजयी भएको हो ।
जितसँगै दुई खेलबाट दुई अङ्क जोडेको आयरल्यान्ड सुपर-१२ समूह-१ को तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट दुई अङ्क जोडेको इङ्ल्यान्ड चौथो स्थानमा छ । ६ टिम रहेको समूहबाट शीर्ष दुई टिमले अन्तिम चारमा स्थान बनाउनेछन् ।
त्यसअघि मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा इङ्ल्यान्डका लागि डेविड मलानले ३५, मोइन अलिले अविजित २४ र ह्यारी ब्रुकले १८ रन बनाएका थिए ।
आयरल्यान्डका जस लिटिलले दुई विकेट लिँदा ब्यारी म्याकोर्थी, फियोन ह्यान्ड र जर्ज डकरोलले समान एक विकेट लिएका थिए ।
पहिलो इनिङ्समा टस हारेपछि ब्याटिङमा निम्त्याइएको आयरल्यान्डले निर्धारित १९.२ ओभरमा सबै विकेट गुमाएर १५७ रनको योगफल खडा गरेको थियो ।
आयरल्यान्डका कप्तान एन्डी बलब्रिर्नीले ६२ रन बनाएका थिए । लोर्कान टकरले ३४, कर्टिस क्याम्फेरले १८, पाउल स्टर्लिङले १४ र ग्यारेथ डेलनीले १२ रन जोडेका थिए ।
इङ्ल्यान्डका मार्क वुड र लियम लिभिङ्स्टोनले समान तीन विकेट लिएका थिए । साम कर नले दुई विकेट लिँदा बेन स्टोक्सले एक विकेट हात पारे ।
वर्षाका कारण प्रभावित बनेको यो प्रतियोगिताको दोस्रो खेल हो । यसअघि मंगलबार दक्षिण अफ्रिका र जिम्बाब्वेले वर्षाकै कारण खेल हुन नसकेपछि अङ्क बाँडेका थिए ।