काठमाडौँ । विश्वकै धनी एलन मस्क ट्विटरको हेडक्वार्टरमा पुगेका छन् ।
अमेरिकाको सान फ्रान्सिस्कोमा रहेको ट्विटरको मुख्यालयमा पुगेका उनले त्यहाँ कर्मचारीसँग छलफल पनि गरेका छन् ।
मस्कले बेसन बोकेर ट्विटरको मुख्यालय छिर्दै गरेको भिडियो ट्विट गरेका छन् । अर्को ट्विटमा उनले लेखेका छन्, ‘आज ट्विटरमा धेरै राम्रा मानिसहरूसँग भेटेँ ।’
यस्तै मस्कले ट्विटरमा आफ्नो बायो अर्थात् परिचय फेरेका छन् । उनले परिचयमा ‘चीफ ट्विट’ राखेका छन् । यस्तै लोकेसनमा ट्विटर हेडक्वार्टर पनि ।
ट्विटर खरिदका लागि गरेको सम्झौता कार्यान्वयन गर्न अदालतले तोकेको समय सकिनुअघि उनले ट्विटरको कार्यालय भ्रमण गर्नु र आफ्नो परिचय ट्विटरका प्रमुखका रूपमा लेख्नुले उनी अदालतको आदेश कार्यान्वयन गर्न गइरहेका छन् भन्ने रूपमा बुझिएको छ ।
विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्ला कम्पनीका सिइओ एलन मस्कले सन् २०२२ को सुरुवातमै माइक्रो ब्लगिङ साइट ट्विटर खरिद गर्ने प्रस्ताव गरेका थिए । उनले ट्विटर कम्पनीको शतप्रतिशत शेयर ४४ अर्ब डलरमा खरिद गर्ने बताए ।
सोही बमोजिम मस्क र ट्विटर कम्पनीबिच सम्झौता पनि भयो । तर पछि एलन मस्क ट्विटर खरिद गर्ने सम्झौताबाट पछि हटे । मस्कको यस्तो एकतर्फी निर्णय विरुद्ध ट्विटरले अदालत गुहारेको थियो । अदालतले त्यसपछि शुक्रवारसम्ममा सम्झौता कार्यान्वयन गर्न आदेश दिएको थियो । अदालतको आदेश आएको अवस्थामा एलन मस्कले पुनः ट्विटर कम्पनी खरिद गर्ने मनस्थिति बनाएका हुन् ।
ट्विटरले आफ्नो प्लाटफर्ममा रहेका फेक अकाउन्टहरूको वास्तविक तथ्याङ्क उपलब्ध नगराएको आरोप लगाउँदै ट्विटर कम्पनी खरिद गर्ने सम्झौताबाट पछि हटेका मस्क पुरानै प्रस्तावित मूल्यमा ट्विटर खरिद गर्न तयार भएका छन् ।