काठमाडौँ । साउदी अरबमा मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको छ । मृत्युदण्डपछि उनको शव परिवारलाई नदिई साउदीकै जमिनमा गाडिएको छ ।
रियादस्थित नेपाली दूतावासका अनुसार जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो । साउदीका लागि नेपाली राजदूत नवराज सुवेदीले दूतावासलाई जानकारी नदिई मृत्युदण्डको सजाय कार्यान्वयनमा आएको बताए ।
उनले भने, ‘दाहाललाई माफी दिइन्छ भनेर हामी ढुक्क थियौँ । तर एक्कासी मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको खबर आयो । जेल प्रशासनले ४८ घण्टापछि मात्रै सूचना दियो । यो हाम्रो लागि निकै दुर्भाग्यपूर्ण हो ।’
मृत्युदण्ड दिनुको कारण
विवेक दाहालले २ फेब्रुअरी २००७ मा आफन्त राजेन्द्र विष्टको हत्या गरेका थिए । अदालतले विष्टको हत्या गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । तल्लो अदालतको आदेशलाई, क्रिमिनल कोर्ट र सर्वोच्च अदालतबाट पनि सदर गरेको थियो ।
२००६ मा साउदी अरब पुगेका दाहाल, विष्ट र सुडानी नागरिक साउदी मरुभूमिमा ऊँटको हेरचाह गर्ने काम गर्थे । दाहालले सुतिरहेको बेला विष्ट र सुडानी नागरिक हत्या प्रयास गरेका थिए । विष्टको तत्काल मृत्यु भएको थियो भने सुडानी नागरिकको आँखामा क्षति पुगेको थियो ।
पीडित राजेन्द्र विष्टको परिवारलाई दाहालको परिवारले ब्लडमनि बापत रकम दिएको भन्दै सन् २०११ मा नेपाली दूतावासले जुवेलको अदालतमा आममाफी दिन निवेदन दिएको थियो । तर, उपचारपछि स्वदेश फिरेका सुडानी नागरिक माफी नदिई सर्म्पकविहिन भए । नेपाली दूतावासका एक अधिकारीले भने, ‘विष्ट परिवारबाट माफी भए पनि सुडानी नागरिकबाट भएन । त्योसँगै उनीमाथि पशु करणीको पनि मुद्दा थियो । यो मुद्दाले गर्दा अदालतबाट माफी भएन । नेपालको तर्फबाट उच्च तहमा पटक पटक पहल गरे पनि सुनुवाइ हुन सकेन ।’
दाहाललाई माफी दिएर स्वदेश पठाउनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले साउदी राजालाई पत्र पठाएकी थिइन् । त्यस बाहेक साउदीका सबै तहमा पनि दूतावासले पहल गर्दै आइरहेको थियो । गत मार्चमा नेपाल भ्रमणमा आएका साउदीको परराष्ट्र मन्त्रीसमक्ष पनि दाहाललाई माफी दिन सरकारले औपचारिक आग्रह गरेको थियो ।