काठमाडौँ । नेकपा एमालेका रुपन्देही १ छविलाल विश्वकर्माले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल आफ्नो प्रतिस्पर्धी हुन नसक्ने टिप्पणी गरेका छन् । रुपन्देहीमा एमाले राप्रपाको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूविरुद्ध सत्ता गठबन्धनले उम्मेदवार नै नउठाएको बताए ।
उनले भने, ‘यो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट कुनै उम्मेदवार अगाडि सार्न सकेका छैनन्। त्यस्तो अवस्थामा हामी संयुक्त रूपमा आएका छौँ। गठबन्धनको उम्मेदवार नभएपछि हामीले केही स्वतन्त्र उम्मेदवार देखेका छौँ। तर, उहाँहरूलाई कसले कहाँ समर्थन गर्छन् त्यो तपसिलको विषय हो ।’
उनले एमाले जसपा र राप्रपाले अघि सारेको उम्मेदवारलाई जिताउन आह्वान गरे ।
घनश्यामबारे उनले भने, ‘राजनीतिमा दलहरू नै जिम्मेवार हुन्छ। राजनीतिक दल नभएका व्यक्तिलाई मतदान गर्नुको अर्थ छैन। स्वतन्त्र नामका व्यक्तिको न समाउने हाँगो हुन्छ। न टेक्ने जमिन नै हुन्छ। पछि कहाँ खोज्न जाने ?’
उनले यो निर्वाचनले देश बचाउने र दुर्घटनातर्फ लिएर जाने भन्नेबीचको लडाइँ भएको बताए ।