काठमाडौँ । नेपालले बङ्गलादेशमा जारी यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।
ढाकामा बिहीबार भएको खेलमा भुटानलाई ७-० गोलको फराकिलो अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
नेपालको फराकिलो जितमा वर्षा ओलीले ४ गोल गरिन् । शुक्रिया मियाँले दुई तथा सेनु परियारले एक गोल गरिन् ।
१० खेलाडीमा समेटिएको भुटानविरुद्ध नेपालले पहिलो हाफमै ४ गोल गरेको थियो ।
पहिलो मिनेटमा वर्षाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् ।
१७ औँ मिनेटमा वर्षाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाइन् ।
खेलको ३४ औँ मिनेटमा वर्षाले ह्याट्रिक पूरा गर्दा नेपालको अग्रता तेब्बर बन्यो ।
लगत्तै ३५ औँ मिनेटमा वर्षाले व्यक्तिगत चौथो गोल गर्दै नेपाललाई ४-० को अग्रता दिलाइन् ।
६५ औँ मिनेटमा शुक्रियाले गोल गर्दा नेपालको अग्रता ५(० को बन्यो ।
खेलको ६७ औँ मिनेटमा भुटान १० खेलाडीमा समेटियो । डिबक्स भन्दा बाहिर आएर बल रोकेपछि भुटानी गोलकिपर दिक्षिता राईले रातो कार्ड प्राप्त गरिन् ।
खेलको ७२ औँ मिनेटमा शुक्रियाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६-० को अग्रता दिलाइन ।
त्यसपछि खेलको ८५ औँ मिनेटमा सेनुले गोल गर्दै नेपाललाई ७-० को जित दिलाइन् ।
जितसँगै नेपालले पहिलो खेलमै ३ अङ्क जोडेको छ । नेपाल दोस्रो स्थानमा रहेको छ ।
भुटानको यो लगातार दोस्रो हार हो । उद्घाटन खेलमा भुटानलाई बङ्गलादेशले ८-० गोल अन्तरले हराएको थियो ।
अब नेपालले दोस्रो खेलमा बङ्गलादेशसँग शनिबार खेल्नेछ ।
च्याम्पियनसिपमा आयोजक बङ्गलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।
डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।