काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २१ गतेदेखि आइसल्यान्डको औपचारिक भ्रमण गर्ने भएकी छन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लूपीएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति कात्तिक २१ देखि २६ गतेसम्म आइसल्यान्डको भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणको तयारीबारे आज परराष्ट्र मन्त्रालयमा भएको सरोकारवाला निकायसँगको छलफलमा मन्त्रालयका सचिव भरतराज पौड्यालले राष्ट्रपतिको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
सचिव पौड्यालका अनुसार राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइसल्यान्ड भ्रमणमा जानेछिन् । राष्ट्रपतिको भ्रमणका क्रममा केही औपचारिक कार्यक्रमसमेत आयोजना हुनेछ ।
राष्ट्रपति भण्डारी कात्तिक २१ गते साँझ ६ बजे कतार एयरवेजको जहाजमार्फत त्यसतर्फ प्रस्थान गर्ने र भ्रमण सम्पन्न गरी सोही एयरलाइन्सबाट कात्तिक २६ गते बिहान ७ : ३० बजे स्वदेश फर्किने तालिका छ ।