काठमाडौँ । साता कारोबारको पहिलो दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अङ्कको गिरावट देखिएको छ ।
सोमबार परिसूचक ६.४३ अङ्कले घटेर एक हजार नौ सय ५८.९४ विन्दुमा कायम भएको हो । आज दुई अर्ब १० करोड ९१ लाख ६३ हजार तीन सय ८५ बराबरको ४९ लाख ४४ हजार ७६ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
आज व्यापार, जीवन बीमा, म्युचुअल फन्ड, लगानी र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ४६.१ अङ्कले बढेको छ भने व्यापार समूहको उपसूचक ३.२५ अङ्कले बढेको छ ।
त्यस्तै, सबैभन्दा ठुलो अङ्कको गिरावट निर्जीवन बीमा समूहको उपसूचकमा देखिएको छ । निर्जीवन बिमाको उपसूचक ८१.१५ अङ्कले घटेको छ । त्यसै गरी, उत्पादन समूहको ६६.९९, विकास बैङ्क समूहको ३९.५४ र लघुवित्त समूहको उपसूचक २१.५२ अङ्कले घटेको नेप्सेले जनाएको छ ।
बैङ्किङ समूह ३.९९, होटेल तथा पर्यटन समूह १.८३, जलविद्युत् समूह ६.०४, र वित्त समूह ९.७४ अङ्कले घटेको छ ।
आजको कारोबारमा धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ८.१३ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ५.७० प्रतिशतका दरले गुमाएका छन् ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ करोड १६ लाख १३ हजार एक सय ६३ बराबरको शेयर किनबेच भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको दुई लाख ३५ हजार दुई सय ४३ कित्ता शेयर खरिद बिक्री भएको छ ।