काठमाडौँ । बैङ्कको चर्को ब्याजदरका विरुद्धमा सडकमा उत्रिएका विराटनगरका उद्योगी व्यवसायीहरूले राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । बुधबार वृहत् मौन-जुलुसमा कालो टिसर्ट लगाएर विरोध स्वरूप सडकमा उत्रिएका व्यवसायीहरूले आर्थिक तथा वित्तीय अवस्था बिगार्न भूमिका खेलेको भन्दै राष्ट्र बैङ्कका गभर्नर अधिकारीको राजीनामा माग गरेका हुन् ।
मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ को संयुक्त आयोजनामा भएको मौन जुलुसले नगरको विभिन्न भाग परिक्रमा गरेर विराटनगरस्थित राष्ट्र बैङ्क प्रदेश १ कार्यालयको गेटमा कोणसभा गरेको थियो ।
व्यापार सङ्घका पूर्व अध्यक्ष द्वय पवनकुमार शारडा र प्रकाश मुन्दडासहित परिसंघका प्रदेश १ अध्यक्ष भीम घिमिरेले गभर्नर अधिकारीले मार्ग प्रशस्त गरेर योग्य तथा सक्षम व्यक्तिलाई राष्ट्र बैङ्कको नेतृत्व सुम्पनु बताए ।
कोणसभापछि व्यापार सङ्घका अध्यक्ष रिजाल, उद्योग सङ्गठनका अध्यक्ष प्याकुरेल र परिसंघ प्रदेश १ का अध्यक्ष घिमिरेले राष्ट्र बैङ्क प्रदेश १ का प्रमुख मीना पाण्डेलाई ज्ञापन बुझाएका थिए ।