काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती परियोजना निर्माण सकिएपछि सुदूरपश्चिमको कायापलट हुने बताएका छन् ।
बैतडीको पाटनमा लोकतान्त्रिक-वाम गठबन्धनले बुधबार आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै देउवाले पश्चिम सेती निर्माणको काम अगाडि बढिसकेको बताए ।
उनले भने, ‘भारतीय कम्पनीसँग सम्झौता गरेर पश्चिम सेती परियोजनाको काम अघि बढेको छ । यो निर्माण सम्पन्न भएपछि सुदूरपश्चिममा कायापलट हुनेछ । किनभने पश्चिम सेतीको आम्दानी सुदूरपश्चिमको हुन्छ ।’
यस्तै प्रधानमन्त्री देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम पनि अघि बढ्ने बताए । यो कामकोलागि भारतीय प्रधानमन्त्रीसमेत इच्छुक रहेको उनले बताए ।
यस्तै उनले बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाइने पनि बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब बन्ने बजेटमा सुदूरपश्चिमले प्राथमिकता पाउने आश्वासन दिँदै पश्चिम सेती र झुलाघाटमा मोटरबेल पुल निर्माण अगाडि बढाउने बताए ।