काठमाडौँ । ट्विटरको ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको निर्णय तत्कालका लागि खारेज भएको छ ।
अमेरिकामा कैयन् फर्जी ट्विटर अकाउन्टहरूले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्विट गरेको घटनापछि ट्विटरले शुक्रबारदेखि ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो ।
मस्कले ट्विटर खरिद गर्नु अगाडि ट्विटरमा अकाउन्ट भेरिफिकेसन अर्थात् ब्लु टिक केवल सेलिब्रेटी, पत्रकार तथा नेताहरुले प्राप्त गर्दथे । तर मस्कले नयाँ नियम लागू गर्दै एउटा फोन, क्रेडिट कार्ड र हरेक महिना ८ डलर खर्च गर्नसक्ने क्षमता भएका जो कोहीले पनि ब्लु टिक हासिल गर्न सक्ने बनाएका थिए ।
पैसा तिरेर ट्विटर अकाउन्ट भेरिफाइड गराउन मिल्ने नयाँ नियमको दुरुपयोग गर्दै अमेरिकामा एक जना व्यक्तिले एली लिली एण्ड कम्पनी नामक औषधि कम्पनीको नक्कली खाता बनाएर ब्लु टिक प्राप्त गरे र आफ्नो कम्पनीबाट इन्सुलिन सित्तैमा उपलब्ध रहेको भनेर ट्विट गरे ।
आफ्नो नक्कली तर भेरिफाइड खाताबाट कसैले त्यस्तो गलत ट्विट गरेपछि कम्पनीले सार्वजनिक रूपमा माफी माग्नुपर्यो ।
ट्विटरले ठुला हस्ती तथा ब्लु टिकवाला ट्विटर अकाउन्टको नामको तल पट्टी अफिसियल लेखिने बताएको थियो । तर, उक्त अफिसियल नामक नयाँ फिचर पनि ट्विटरले केही घण्टामै बन्द गरेको छ ।