काठमाडौँ । मतदाता शिक्षा कार्यक्रमका लागि काठमाडौँमा खटिएका महिला स्वास्थ्य स्वयमसेविकाहरुले आफूहरूलाई काम गर्न कठिन भइरहेको बताएका छन् ।
आइतबार बिहान काठमाडौँको नक्सालमा घरदैलो गरिरहेका उनीहरूले परिचय पत्र नभएको कारण आफूहरूलाई मतदाता शिक्षा दिने काममा कठिनाइ भइरहेको प्रतिक्रिया दिएका हुन् ।
तत्काल सो परिचय पत्र उपलब्ध गराई मतदाता शिक्षा कार्यक्रमलाई सहज बनाउने काममा सहयोग गर्न उनीहरूले निर्वाचन आयोगसँग माग समेत गरेका छन् । परिचय पत्र नभएकाले आफूहरूलाई मतदाताहरूले घरको गेटसमेत नखोलिदिने गरेको काठमाडौँ महानगरपालिका वडा नम्बर १ की महिला स्वास्थ्य स्वयंसेविका शर्मिला मानन्धरले प्रतिक्रिया दिइन् ।
उनले परिचय पत्रको अभावमा काम गर्न कठिनाइ भएको उल्लेख गर्दै तत्काल परिचय पत्रको व्यवस्था गरिदिन पनि निर्वाचन आयोगसँग माग गरिन् ।
मतदाताहरूमा भोट हाल्न जाने कुरामा उदासिनता पाइएको पनि महिला स्वास्थ्य स्वयमसेविकाहरुको बुझाइ छ । भोट हालेर के हुन्छ ? भनेर मतदाताहरू मत हाल्न नै अनिच्छुक देखिएको पनि महिला स्वास्थ्य स्वयंसेविका मानन्धरले बताइन् ।
निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकालाई मतदाता शिक्षा कार्यक्रम सबै वडाहरूमा सञ्चालन गर्ने जिम्मेवारी दिएको छ । जस अनुसार वडा सचिवको नेतृत्वमा बनाइएको मतदाता शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि महिला स्वास्थ्य स्वयमसेविकाहरु घरघरमा पुगिरहनु भएको काठमाडौँ महानगरपालिका वडा नम्बर १ का सहायक वडा सचिव सर्वज्ञराज पौडेलले जानकारी दिए।
मतदाता शिक्षा कार्यक्रम देशभर गत कात्तिक १८ गतेबाट सुरु भएको छ । यो कार्य मङ्सिर १ गतेसम्म चल्ने पनि सहायक वडा सचिव पौडेलले बताए। आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अव ७ दिन मात्रै बाँकी छ ।