काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या बढेको छ । मत खसाल्न आफ्नो मतदाता नामावली भएको ठाउँमा जानेहरू बढेका हुन् ।
यात्रुको चाप बढेसँगै सडकमा गुड्ने सवारी साधनको सङ्ख्या पनि वृद्धि भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अहिले सवारीको चाप केही बढेको बताए ।
आजसम्म शैक्षिक संस्था र सरकारी कार्यालय सञ्चालनमै रहेकाले निर्वाचनका लागि बाहिरिने यात्रुको सङ्ख्या उल्लेख्य देखिएको उनको भनाइ छ ।
बुधबार ५१ हजार चार सय ५० जना उपत्यका छिरेको र ५१ हजार तीन सय १९ जना बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा आवतजावत गर्ने सवारी साधनको सङ्ख्या हेर्दा आठ हजार १० सवारी साधन भित्रिएको र सात हजार सात सय नौ वटा सवारी साधन बाहिरिएका छन् । त्यस्तै बुधबार आठ हजार तीन सय ३६ वटा सवारी साधन उपत्यकामा भित्रिएका थिए भने सोही सङ्ख्यामा सवारी बाहिरिएका छन् ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले कात्तिक अन्तिम सातायता सवारी साधन परिचालनमा चाप देखिएको बताए ।
लामो दूरीका सवारी साधनहरू शुक्रबार र छोटो दूरीका गाडीहरू शनिबारसम्म चल्ने उनको भनाइ छ । चुनावका लागि परिचालन भएका सवारी साधनको सङ्ख्या बढे पनि त्यसको व्यवस्थापन गर्न समस्या नरहेको सिटौलाले बताए ।