काठमाडौँ । गुल्मीको क्षेत्र नं.१ अन्तर्गत कालिगण्डकी गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको ‘क’ केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन प्रक्रिया चलिरहेको समयमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो । त्यस्ता मतपत्र ५५ वटा रहेको बताइएको छ । उक्त मतदान केन्द्रमा पुनः मतदान अधिकृतसहितको टोली पठाएर मतदान गर्ने निर्णय भएको छ ।
तर, मतदान कहिले गर्ने भन्ने विषयमा छलफल भइरहेको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । दुई लाख २३ हजार ६१५ मतदाता रहेको गुल्मीमा आज भएको निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।
यो क्षेत्रमा नेपाली काँग्रेसका चन्द्र भण्डारी र एमाले सचिव प्रदीप ज्ञवाली चुनावी प्रतिस्पर्धामा छन् ।