काठमाडौँ । मोरङ क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार अमनलाल मोदीले अग्रता कायम राखेका छन्।
विराटनगरस्थित आदर्श माविमा जारी मतगणनाका क्रममा मङ्गलवार बेलुकासम्म गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार मोदीले १० हजार १ सय ५० मत पाएका छन्। उनले नेकपा एमालेका उम्मेदवार विनोद ढकाललाई ३ हजार ५ सय ८८ मतले पछाडि पारेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म भएको १९ हजार ३ सय २५ मतको गणनामा ढकालले ६ हजार ५ सय ८८ मत पाएका छन्।
त्यसैगरि, राप्रपाका रवि रिजालले ६ सय १२ मत हासिल गरेका छन्।
यहाँ १ हजार ६४ मत बदर भएको कार्यालयले जनाएको छ।
सोही क्षेत्रको प्रदेश सभा १ तर्फ गठबन्धनतर्फ काँग्रेसका उम्मेदवार गुरुराज घिमिरेले ७ हजार ८ सय ३२ मत हासिल गरेका छन्। घिमिरेसँग १ सय ५७ मतले पछि परेका नेकपा एमालेका उम्मेदवार जयप्रकाश चौधरीले ७ हजार ६ सय ७५ मत पाएका छन्।
त्यसैगरि, राष्ट्रिय प्रजातन्त्र पार्टीका आशनारायण थारुले १ हजार ४ सय ३१ मत हासिल गर्दा हाम्रो नेपाली पार्टीका उम्मेदवार नन्दुकुमार सरदारले १ हजार १ सय २ मत पाएका छन्।
प्रदेश सभातर्फ हालसम्म १९ हजार २ सय ९० मत गणना भएको छ। जसमा ८ सय ५९ मत बदर भएको छ। यस क्षेत्रमा ५७ हजार ३ सय ९० मतदाता रहेका थिए।