काठमाडौँ । धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ तथा वडाध्यक्ष र कार्यपालिका सदस्यहरूको विवाद चर्किँदै गएको छ । विवाद बढ्दै गएपछि मेयर साम्पाङले आज (शुक्रबार) कार्यपालिका सदस्यहरूसँग राजीनामा मागेका छन् । उनले आफूले भनेको नमान्ने भए राजीनामा दिएर बाटो खुला गरिदिन भनेका हुन् ।
साम्पाङले शुक्रबार उपमहानगपालिकास्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर कार्यपालिका सदस्यहरूको राजीनामा मागेका हुन् । तर गत वैशाखमा निर्वाचित भएयता कार्यपालिका बैठक बस्न नसकेको अवस्थामा वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले बिहीबार पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङ निरङ्कुश, स्वेच्छाचारी र अराजक बनेको आरोप लगाएका थिए ।
उनीहरूले धरान उपमहानगरपालिका परिसरमै गरेको पत्रकार सम्मेलनमा कार्यपालिका बैठक बस्न नसक्नुमा मेयर साम्पाङकै दोष भएको बताए । उनीहरूले मेयरले कार्यपालिका सदस्यहरूबारे गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति समेत जनाए ।
धरान नगर कार्यपालिका प्रवक्ता एवम् वडाध्यक्ष सूर्य भट्टराई ’मनोज’ले मेयरले कार्यपालिका बैठक अघि बढाउनै नचाहेको बताए । उनले गैर संवैधानिक र गैर कानुनी बाटोबाट तोक आदेशकै भरमा गरिरहेको कामको नगर कार्यपालिका जिम्मेवार नहुने पनि बताएका छन् ।
सम्बन्धित समाचार : मेयरसँगको विवादबारे वडाध्यक्ष र कार्यपालिका सदस्यले गरे पत्रकार सम्मेलन
सम्बन्धित समाचार : मेयर र कार्यपालिका सदस्यबीचको विवादले उपमहानगर अनिर्णयको बन्दी, कर्मचारीले पाएनन् तलब