कञ्चनपुर । बेलडाँडी गाउँपालिकाले सार्वजनिक जग्गामा बनाइएका घर टहरा हटाउने कार्य सुरु गरेको छ । गाउँपालिकाले आजदेखि डोजर प्रयोग गरी अतिक्रमण गरिएको जग्गा खाली गराउन थालेको हो ।
१५ शय्याको अस्पताल निर्माणका लागि सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन थालेको गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले बताए ।
‘गत साउन महिनामै ३५ दिने सूचना प्रकाशन गरी अतिक्रमण हटाउन भनेका थियौँ,’ उनले भने, ‘त्यसपछि मङ्सिरमा सात दिने सूचना जारी गर्यौँ । अतिक्रमण नहटाइएपछि डोजरको प्रयोग गरी हटाउन थालेका हौँ ।’
उनका अनुसार सार्वजनिक अतिक्रमणको चपेटामा परेको एक बिघा १७ कठ्ठा जग्गाको अतिक्रमण हटाइन लागेको छ ।
‘अस्पतालका भौतिक संरचना निर्माणका लागि ठेक्का आह्वानको कार्य भइसकेको छ,’ उनले भने, ‘तत्काल जग्गाको अतिक्रमण हटाउनुपर्ने भएकाले यस कार्यमा लागेका छौँ ।’
गाउँपालिकामा ७२ बिघा जग्गा ग्रिन बेल्टको अतिक्रमणमा परेको छ । गाउँपालिका उपाध्यक्ष शान्ति नाथले अस्पतालका लागि मात्रै नभएर अतिक्रमणमा परेको पुरै जग्गाको अतिक्रमण हटाउनुपर्ने अडान लिएकी हुन् ।