काठमाडौँ । एमाले नेता योगेश भट्टराईले अर्थतन्त्र सुधार गर्न गठबन्धन सरकार असफल भएको बताएका छन्। विराटनगरमा आयोजित ‘बदलिँदो राजनीति र खस्कँदो अर्थतन्त्रमा युवा नेतृत्वको भूमिका’ विषयक अन्तर्क्रियामा नेता भट्टराईले अर्थतन्त्र सुधार्न गठबन्धनको सरकार असफल भएको बताएका हुन्।
उनले अर्थतन्त्र सुधार गर्न गठबन्धन सरकारको विकल्प खोज्ने वेला आएको बताए। भट्टराईले राजनीतिक व्यवस्थामा देशे बाटो लिइसकेको भए पनि आर्थिक हिसाबले अझै लय समाउन नसकेको बताए।
उनले अबको एजेन्डा आर्थिक सामाजिक मुद्दा नै भए पनि निर्वाचनमा दलहरूले आर्थिक एजेन्डालाई स्पष्ट रूपमा उठाउन नसकेको टिप्पणी गरे। भट्टराईले यति वेला नेपालमा व्यापार गरेर कमाउने अवस्था नरहेको बताए।
अन्तर्क्रियामा नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले राजनीतिक बेथिति अन्त्य नगरी सुशासन र आर्थिक समृद्धि नआउने स्पष्ट पारे। पौडेलले राजनीतिक बेथिति अन्त्य गर्न युवाहरूले हस्तक्षेप गर्नुपर्ने बताए । पौडेलले संसारकै दुईवटा ठुला बजार छिमेकमा रहे पनि नेपालले आफ्ना उत्पादन बेचेर लाभ लिन नसकिरहेको बताए। बोलेर मात्रै आर्थिक समृद्धि नआउने भएकाले राजनीतिक दलहरूले के गर्नेरु कसरी गर्नेरु भन्ने स्पष्ट एजेन्डा ल्याउनुपर्ने बताए।
पौडेलले राजनीतिलाई आर्थिक विकाससँग जोडेर अघि बढ्नुपर्ने बताए। उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले सरकारको साथ र सहयोग पाए निजी क्षेत्र काम गर्न सक्षम रहेको बताए। प्याकुरेलले राजनीतिक लुछाचुँडीमा नलागी काममा ध्यान दिन युवा नेताहरूलाई आग्रह गरे। प्याकुरेलले नेपालमा धेरै वर्ष देखि सम्भाव्यता अध्ययन भइरहेका कारण अब, सम्भाव्यता अध्ययन नभई ठोस काममा लाग्न युवा नेताहरूलाई आग्रह गरे।
प्याकुरेलले ब्याजदर बढेको, राजस्व सङ्कलन घटेको, विदेशी मुद्राको संचिती घटेको, बजार माग २८ प्रतिशत बढीले घटेकाले अर्थतन्त्र सहज अवस्थामा नरहेको बताए।