काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन केही समयमा सुरु हुँदै छ । बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जारी गरेको कार्यतालिकामा उल्लेख छ । यद्यपि, ८ बजिसके पनि मतदान भने सुरु भएको छैन ।
मतदान केन्द्रमा मोबाइल लैजान पाउनु पर्ने र हुँदैन भन्ने पक्षको विवाद हुँदा मतदान सुरु हुन नसकेको हो । निर्वाचन समितिका रहेका संस्थापन पक्षधर भिष्मराज आङदेम्बे र पुष्पा भुसास मोबाइल लैजान पाउनु पर्ने पक्षमा छन् । संस्थापनइतर पक्षका प्रकाश स्नेही भने गोप्य मतदानमा मोबाइल लैजान हुँदैन भन्ने पक्षमा छन् । जसका कारण मतदान सुरु हुन सकेको छैन ।
मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा हुनेछ । कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन् । मतगणना र परिणाम सार्वजनिक आजै हुनेछ ।
कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको उमदवारी परेको छ । कांग्रेस संसदीय दल विधानले गोप्य मतदानको व्यवस्था गरेको छ।
यसैबीच निर्वाचनलाई लक्षित गर्दै सिंहदरबारमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदान सुरू हुनुअघि प्रवेशद्वारबाट नै सुरक्षाकर्मीले कडा चेकजाँच गरिरहेका छन्।
कांग्रेस संसदीय दलको कार्यालय बाहिरको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ। चेकजाँच गरेर सांसद्हरुलाई मात्र कार्यालयमा प्रवेश दिइएको छ।