सर्लाही । जिल्लाका दुई चिनी उद्योग सञ्चालनमा आएका छन् ।
किसानले बिक्रिगरेको उखुको भुक्तानी गर्न नसकेको एउटा उद्योग भने सञ्चालनमा आउन सकेको छैन ।
उद्योग परिसरमा उखु पर्याप्त आएकाले उद्योग सञ्चालन गरिएको इन्दु शङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए । उनका अनुसार किसानको मागअनुसार उखुको मूल्य निर्धारण नभए पनि चिनी उद्योगले तत्कालका लागि गत वर्षकै मूल्य कायम गरी उखु खरिद गर्न थालेको हो ।
हरिवनमा रहेको इन्दु शङ्कर र बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालनमा आएका भए पनि अन्नपूर्ण सुगर मिलले किसानको पुरानो उखुको भुक्तानी नगरेकाले सञ्चालनमा आउन नसकेको हो ।
जिल्लाका दुई चिनी मिलले पुस १ गतेबाट उखु खरिद सुरु गरी क्रसिङको तयारी गरेका थिए । सरकारले उखुको मूल्य निर्धारण नगर्दा गत वर्षकै मूल्यमा भुक्तानी दिइने र मूल्य निर्धारण भएपछि बाँकी रकम भुक्तानी दिने सहमति चिनी उद्योगहरूले गरेका छन् ।
उखु किसानले उखुको मूल्य प्रतिक्विन्टल कम्तीमा सात सय पाँच कायम गर्नुपर्ने माग गरेका उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले बताए ।
उनका अनुसार उखु किसानले चिनी उद्योगमा उखु पुर्याएपछि भुक्तानी पाउने झन्झटिलो प्रक्रिया र उखुको एक पटकमा भुक्तानी नपाउँदा किसान मारमा परेका छन् । तर खेतमा उखु सुक्न दिनुभन्दा उधारो भए पनि बेच्नुपर्ने किसानलाई बाध्यता छ ।
जिल्लामा करिब ३० हजार बिघा क्षेत्रफलमा उखु खेती हुने गरेकामा यस वर्ष आधाभन्दा पनि कम जमिनमा किसानले उखु खेती गरेका उखु उत्पादक किसानका अगुवा राजकुमार मैनालीले बताए । उनका अनुसार जिल्लामा यस वर्ष करिब १४ हजार बिघा क्षेत्रफलमा उखु खेती भएको छ ।
इन्दु शङ्कर चिनी उद्योगले यस वर्ष करिब ४० लाख क्विन्टल उखु क्रसिङ गर्ने र यस वर्षका लागि उखुको मूल्य उद्योगले पाँच सय २० र सरकारले ७० किसानलाई भुक्तानी दिने उद्योगका प्रशासन शाखा प्रमुख ठाकुर नेपालले बताए ।
उखु उत्पादक किसानले सधैँ घाटा खाएर उखु बेच्नुपरेका कारण उखुको मूल्य बढाउन आफूहरूले माग राखेको उखु उत्पादक किसान महासङ्घका अध्यक्ष मैनालीले बताए ।