काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल देखे र सोचेजस्ता व्यक्ति नरहेको टिप्पणी गरेका छन् । पदाधिकारीको बैठकमा ब्रिफिङ गर्दै उनले यस्तो बताएका हुन् ।
प्रचण्डको भनाई उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘माधव नेपाल मैले सोचेजस्ता रहेन छन् । समग्र प्रक्रियामा माधव नेपालको भूमिका ठिक भएन । जता पनि अप्ठेरो पार्ने उनको स्वभाव रहेछ ।’
त्यसै गरी शेरबहादुर देउवाकै कारण गठबन्धन टुटेको प्रचण्डको भनाई थियो । ‘देउवा पूर्व सहमतिबाट पछि हटे, माओवादीलाई धोका दिन खोजे,’ उनको भनाई थियो, ‘हामीसँग गठबन्धन हुँदा हुँदै एमालेसँग मिल्न खोजे । समय घर्काएर आफैँ प्रधानमन्त्री हुने र एमालेको समर्थन लिने उनको रणनीति थियो । यो सबै बुझेपछि हामीले नयाँ पहल थालेका हौँ ।’
यसबीचमा एमालेसँग विभिन्न चरणमा कुराकानी भइरहेको दाहालको भनाई थियो ।