काठमाडौँ । कर्णाली प्रदेशसभा संसदीय दलको नेताका लागि नेकपा माओवादी केन्द्रबाट चार जनाले दाबी गरेका छन् । मङ्गलवार बसेको माओवादी प्रदेश समन्वय समितिको बैठकमा रुकुम पश्चिमका राजकुमार शर्मा (आर्ट), कालिकोटका दुर्गबहादुर रावत र सुर्खेतका कृष्ण जिसी (जितेन्द्र)ले दलको नेताका लागि दाबी गरेको हुन् ।
संसदीय दलको नेतामा यसअघि विष्ट र शर्माको चर्चा हुँदै आएको थियो । मंगलबारको बैठकमा रावत र जिसीले पनि दाबी गरेको एक नेताले जानकारी दिए । चार जनामध्ये शर्मा, विष्ट र रावतबीच दल नेताका लागि सङ्घर्ष बढी हुने ती नेताले बताए । शर्मा जनार्दन शर्मा निकट मानिन्छन् भने विष्ट शक्ति बस्नेत र रावत महेन्द्रबहादुर शाही निकट हुन् । यस्तै सुर्खेत १ (ख) बाट निर्वाचित जिसीले आफ्नो दाबी रहेको बताए ।
जिसीले सांसदहरूको आग्रह अनुसार दलको नेतामा आफ्नो दाबी रहेको बताए । तर प्रदेश कमिटीका अनुसार शर्मा र विष्ट नै दलको नेताका सम्भावित व्यक्ति हुन् । माओवादीका प्रदेश इन्चार्ज कालिबहादुर मल्लले भोलि सर्वसम्मत तरिकाले दलको नेता छान्ने जानकारी दिए । यस्तै बैठकमा कर्णालीमा माओवादीकै नेतृत्वमा सरकार बनाउनुपर्ने विषयमा समेत छलफल भएको थियो। फेरिएको राजनीतिक समीकरणले कर्णालीमा एमाले, माओवादी र राप्रपाको सरकार बन्ने छ । १३ सिटसहित दोस्रो दलको हैसियतमा र अन्य प्रदेशभन्दा कर्णालीमा जनाधार बलियो रहेकाले सरकारको नेतृत्व माओवादीले नै पहिला गर्नुपर्ने नेताहरूको भनाई थियो ।