काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेसले तत्कालै नीति अधिवेशन बेलाउनुपर्ने माग गरेका छन् । कतिपय काँग्रेस नेताहरूले विशेष अधिवेशनको माग गरिरहेको बेला कोइरालाले भने विशेष अधिवेशन बोलाउने प्रक्रिया लामो र झन्झटिलो भएको भन्दै नीति अधिवेशन बोलाउनु पर्ने माग गरेका हुन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालगायतलाई कारबाही गर्नुपर्छ भन्ने कुरा पनि गलत भएको बताए ।
काँग्रेस छोडेर एमालेसँग मिल्नु भनेको माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनको मर्म बुझ्न नसक्नु भएको र काँग्रेसको पनि कमजोरी रहेको उनले बताए ।
कोइरालाले काँग्रेसले माओवादी र एमालेको चाललाई बुझ्न नसक्दा दुर्घटना भएको पनि बताए । ‘हामीले माओवादीको र एमालेको चाललाई बुझ्न सकेनौँ,’ कोइरालाले भने । आफूहरूको मान्यता निर्वाचन पछि गठबन्धन गर्ने भन्ने रहेपछि निर्वाचनमा जाँदा नै गठबन्धन गर्दा कमजोरी भएको पनि उनले बताए ।
गठबन्धन विभाजन भएको विषयमा नेपाली काँग्रेसको आगामी पुस २२ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा निर्मम समीक्षा हुने उनले बताए । ‘हाम्रो तर्फबाट पनि नेगोशिएसन टिम थियो । कसरी वार्ता गर्नुभयो । यो विषयमा २२ गतेदेखिको बैठकमा निर्मम समीक्षा गर्छौं,’ कोइरालाले भने ।
उनले पार्टीभित्र विशेष महाधिवेशनको माग गर्नुभन्दा नीति अधिवेशन गर्नैपर्नेमा जोड दिए ।