काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले गुनासो नआउने किसिमबाट प्रभावकारी रूपले सेवा गर्न नापी अधिकृतहरूलाई अनुरोध गरेका छन् । जनतासँग प्रत्यक्ष रूपमा सरोकार हुने भूमिको यथार्थ विवरण गुनासो नआउने गरी तयार गर्न नापी अधिकृतहरूलाई भनिएको हो ।
भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रद्वारा आयोजित नवनियुक्त नापी अधिकृतहरूको तीन महिने प्रशिक्षण कार्यक्रमको समापनको अवसरमा सचिव डा. रेग्मीले नापीको परम्परागत कार्यशैलीलाई परिवर्तन गर्दै भू सूचना सेवालाई प्रभावकारी बनाउँदै विभागले विकास गरेको विद्युतीय सूचना प्रणालीको प्रयोग सेवाग्राहीले आफै प्रयोग गर्न सक्ने गरी नापी प्रशासनको सेवालाई पारदर्शी र झन्झटमुक्त बनाउन आग्रह गरे ।
सबै जग्गाधनीहरूले आफ्नो भूस्वामित्वको विवरण अनलाइन प्रणालीबाट प्राप्त गर्न सक्ने बनाउने वैज्ञानिक भू सूचना प्रणालीको विकास गर्ने र कार्यालयहरूको सेवा प्रवाहमा प्रभावकारिता ल्याउन नवीनतम उपायहरूको अवलम्बन गर्न पनि उनले भने ।
भूमि व्यवस्थापन विभागका महानिर्देशक पद्मनिधि सोतीले भूमि व्यवस्थापन तथा अभिलेख विभाग अन्तर्गतका मालपोत कार्यालयहरू र नापी कार्यालयहरूले समन्वयात्मक तवरबाट काम गर्न सकेमामात्र गुनासो कम हुने कुरा व्यक्त गरे ।
नापी विभागका महानिर्देशक जनक राज जोशीले नापी अधिकृतहरू कर्म क्षेत्रमा अव्वल बन्नु पर्ने कुरामा जोड दिए ।
भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका प्रमुख गणेश भट्टले तालिममा सकेका ज्ञानलाई कर्म क्षेत्रमा व्यवहारमा रूपान्तरण गर्न अनुरोध गरे ।