काठमाडौँ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवस्थाको सेवा सुधारका लागि हस्तक्षेपकारी कार्य योजना बनाउने बताएका छन् ।
मन्त्री श्रेष्ठले मङ्गलवार एकान्त कुनाका साथै ठुलो भर्याङस्थित यातायात कार्यालयको अनुगमन गरेका छन् । त्यसक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्रेष्ठले यातायात व्यवस्था सुधारका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको बताए । उनले भने, ‘अहिलेको समस्या समाधान गर्ने, कमजोरी सच्याउने र सेवाग्राहीलाई छिटो सहज सेवा दिन के गर्नुपर्छ भनेर हस्तक्षेपकारी कार्य योजना बनाउँदैछौँ ।’
स्थलगत अवलोकन गरेर प्रत्यक्ष रूपमै समस्या जान्न अनुगमनमा आएको भन्दै उनले समयमा काम नहुने र कतिपय सन्दर्भमा असहज पीडा गरी सेवा प्राप्त हुने अवस्था अन्त्य गर्ने बताए ।
कतिपय समस्या समाधान गर्न डिजिटाइजेसनमा जाने र आवश्यक साधन स्रोत समेत उपलब्ध गराउने भन्दै श्रेष्ठले अघि भने, ‘केही समय मात्र पर्खिनुस् ।’