काठमाडौँ । पोखरामा जारी २२ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनल खेल आज शनिबार हुँदैछ । पोखरा रङ्गशालामा हुने फाइनलमा सङ्कटा क्लब र अमेरिकाको भुटनीज यूथ सकर क्लब युएसएबीच प्रतिस्पर्धा हुनेछ ।
दुई टोलीबीचको फाइनल खेल दिउँसो १:३० बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै सङ्कटा प्रतियोगिताको उपाधि उचाल्ने योजनामा छ । सङ्कटा दोस्रो पटक च्याम्पियन बन्ने योजनामा छ । यसअघि सङ्कटाले एक पटक उपाधि जितेको छ ।
सङ्कटा सेमिफाइनलमा एपीएफ क्लबलाई ४-१ गोल अन्तरले हराउँदै फाइनल पुगेको हो । भुटनीजले सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेडलाई १-० गोल अन्तरले हराउँदै सङ्कटासँगको भेट पक्का गरेको हो ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।