काठमाडौँ । स्वतन्त्र सांसद अमरेश सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा व्यक्त गरेका प्रतिबद्धताको ५० प्रतिशत काम मात्रै भए पनि आधुनिक इतिहासको स्वर्ण काल हुने बताएका छन् ।
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने विषयको छलफलमा भाग लिँदै सांसद सिंहले सरकारको कार्यक्रम प्राथमिकता राम्रो भए पनि कार्यान्वयन कठिन रहेको बताए ।
उनले भने, ‘उहाँले विश्वासको मत माग्ने क्रममा आफ्नो सरकारको प्राथमिकता प्रस्तुत गर्नुभयो, यो यो कुरा गर्छु भन्नु भएको छ । उहाँको कुरा सुन्दा ठिक र कर्णप्रिय थिए । तर उहाँले व्यक्त गर्नुभएको ५० प्रतिशत मात्रै कार्यक्रम लागू भयो भने आधुनिक इतिहासको सबैभन्दा गोल्डेन पिरियड हुन्छ ।’
उनले सुशासन चाहने हो भने प्रधानमन्त्री, राष्ट्रपति निवास र प्रधानन्यायाधीश निवासमा सीसीटीभी राख्नु पर्ने पनि सुझाव दिएका थिए ।
‘प्रधानमन्त्रीले साँच्चै सुशासन चाहनु भएको हो भने बालुवाटार, राष्ट्रपति भवन र प्रधानन्यायाधीश निवासमा सीसीटीभी क्यामेरा राखौँ, जुन दिनदेखि बिचौलिया भेट्न शीर्ष स्थानबाट सुरु हुन्छ त्यही दिनबाट सुशासन सुरुवात हुन्छ । त्यसका लागि प्रधानमन्त्री तयार हुनुहुन्छ ?,’ उनले भने । यस्तै उनले संविधानमाथि प्रहार हुँदैन भन्ने प्रधानमन्त्रीबाट प्रतिबद्धता आउनुपर्ने पनि बताएका थिए ।