काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पृथ्वी जयन्तीलाई सरकारी तवरबाटै उत्सवको रूपमा मनाउनुपर्ने बताएका छन् ।
बुधबार ३०१ औँ पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौँमा आयोजना गरेको जलपान कार्यक्रममा अध्यक्ष लिङदेनले पृथ्वी जयन्तीको दिनमा सरकारले सार्वजनिक बिदा दिएर मात्रै नपुग्ने भन्दै यो दिनलाई सरकारी तवरबाटै उत्सवको रूपमा मनाउनुपर्ने बताएका हुन् ।
यद्यपि पृथ्वी जयन्तीको दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेर सरकारले सुकार्यको प्रारम्भ गरेको उनले बताए । राप्रपाको मागलाई सरकारले स्वीकार गरेको भन्दै आफूहरूको लागि यो दिन विजयोत्सवको दिन पनि भएको बताए ।
उनले सरकारको न्यूनतम साझा कार्यक्रममा राप्रपाको माग समेत समेटिएकाले सरकारमा जाने ढोका खुलेको बताएका छन् ।