काठमाडौँ । काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिले आगामी तीन वर्षको आय प्रक्षेपण गरेको छ । जेडीए भवनको सभा कक्षमा बसेको बैठकले आर्थिक बर्ष २०८०-०८१, ०८१-०८२ र ०८२-०८३ को आय प्रक्षेपण गरेको हो ।
जसअनुसार आर्थिक वर्ष २०८०-०८१ को आय ११ अर्ब ८० करोड २० लाख रुपैयाँ हुनेछ । त्यसैगरी आर्थिक वर्ष ०८१-०८२ को १३ अर्ब १२ करोड ३० लाख रुपैयाँ र आर्थिक वर्ष ०८२-०८३ को १३ अर्ब ६६ करोड ३० लाख रुपैयाँ आय हुनेछ ।
नेपाल सरकार, प्रदेश सरकार र अन्य निकायबाट प्राप्त हुने समानीकरण, सशर्त तथा निसर्त अनुदान, राजस्व बाँडफाँट, रजिस्ट्रेसन दस्तुर, मूल्य अभिवृद्धि करलगायतका शीर्षकहरूको सिलिङ प्राप्त नभएकाले प्रक्षेपित अङ्क थपघट हुन सक्ने अधिकारीहरूको भनाइ छ ।
महानगरले आर्थिक वर्ष ०७८-०७९ मा १० अर्ब ६० करोड ४८ लाख ३८ हजार रुपैयाँ आय गरेको थियो । चालु आर्थिक वर्षको अनुमानित आय १० अर्ब ४१ करोड ९५ लाख ९ हजार रुपैयाँ हो । जसमध्ये अहिलेसम्ममा चार अर्ब ४१ करोड ६५ लाख चार हजार रुपैयाँ आय सङ्कलन भइसकेको छ ।
समितिको बैठकमा आर्थिक वर्ष २०८०-०८१ का लागि सम्पत्ति करमा पुनरावलोकन गर्ने विषयमा छलफल भएको छ । यो सडकको पहुँच र प्रकृतिका आधारमा निर्धारण हुने भएकोले वडा कार्यालयबाट छलफल चलाएर सडकको प्रकृति सिफारिस गर्न अनुरोध गर्ने निर्णय भएको छ ।
महानगरले गएको ७ वर्षदेखि सम्पत्ति करमा पुनरावलोकन गरेको छैन । काठमाडौँ महानगरपालिकाको राजस्व ऐन २०७५ को दफा ८ (१) मा हरेक दुई वर्षमा कर पुनरावलोकन गर्न सकिने व्यवस्था छ ।
यसअघि व्यावसायिक नभएका ठाउँ अहिले व्यावसायिक भइसकेका छन् । कर निर्धारण प्रणालीलाई एकरूपता दिन पर्ने भएको छ । यसकारण कर पुनरावलोकन गर्नुपर्ने भएको अधिकारीहरूले प्रस्ट पारेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जग्गाको मूल्य निर्धारणसँगै जग्गा व्यवस्थापनसँग सम्बन्धित विषयमा मालपोत कार्यालयहरूसँग छलफल गर्नुपर्ने भएको उल्लेख गरे ।
बैठकमा वडा २२ का अध्यक्ष चिनीकाजी महर्जनले, ठाउँका नामबाट कर लिनु अवैज्ञानिक भएको बताए । भूगोल एउटै भए पनि व्यावसायिकताका दृष्टिले मूल्य फरक हुन सक्ने र पहिले नक्साङ्कन गरी पछि निर्धारण गर्नुपर्ने उनको भनाइ छ ।