काठमाडौँ । हुन्डी कारोबारमा संलग्न मोरङ विराटनगर-१८ का रविप्रकाश साहलाई प्रहरीले ७ लाख १२ हजार नगद र विभिन्न बैङ्कमा जम्मा गरेको ६२ लाख रुपैयाँभन्दा बढीको भौचरसहित पक्राउ गरेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार बिहीबार साहलाई जलजला मोडमा शङ्कास्पद अवस्थामा हिँड्दै गरेको अवस्थामा नियन्त्रणमा लिएर तलासी गर्दा उक्त रकम फेला परेको हो ।
३६ वर्षीय साहको साथ वाट विभिन्न बैङ्कका १४ थान एटिएम कार्ड, चेक बुक ९ थानसहित ६ लाख रुपैयाँ निकाल्नका लागि काटिएका दुई थान चेकसमेत बरामद भएको कोइरालाले बताए । साहसँग नगद र बैङ्कमा जम्मा गरेको गरी करिब ७० लाख रुपैयाँको स्रोत खुल्न नसकेको र उक्त रकम हुन्डी कारोबारमा प्रयोग गरिएको हुन सक्ने कोइरालाको भनाइ छ ।