काठमाडौँ । भूकम्पले क्षतिग्रस्त बनाएका विश्व सम्पदामा सूचीकृत हनुमान ढोका दरबार क्षेत्रका ३८ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ ।
विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त ७५ सम्पदामध्ये ३८ वटाको पुनर्निर्माण सम्पन्न भएको छ भने १४ वटाको पुनर्निर्माण जारी रहेको हनुमान ढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
सङ्ख्यात्मक रूपमा पुनर्निर्माण सम्पन्न भएका सम्पदा सङ्ख्या कम भन्दै केही निर्माणको काम सकेर हस्तान्तरण हुन बाँकी रहेको अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए ।
हाल पुनर्निर्माण काम भइरहेका सम्पदाहरू आगामी डेढ वर्षमा पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ । दरबार क्षेत्रमा रहेका ९५ सम्पदामध्ये भूकम्पमा ७५ वटा सम्पदामा क्षति पुगेको थियो ।
हनुमान ढोकाको दक्षिणतर्फ रहेको ऐतिहासिक नौ तले दरबार र दरबारसँगै रहेका वसन्तपुर टावर, ललितपुर टावर, कीर्तिपुर टावर र भक्तपुर टावर चीन सरकारले पुनर्निर्माण गरिसकेको छ भने हस्तान्तरण हुन बाँकी छ ।
साथै काष्ठमण्डप, नाटेश्वर, पञ्चमुखी हनुमान, तारिणीदेवी मन्दिर, महादेव मन्दिर पहिलो र दोस्रो, लक्ष्मीनारायण मन्दिर, कागेश्वरी मन्दिर नागरा वंशगोपाल, श्वेत भैरव, सिल्यान सत्तल, गद्धी बैठक, ढुकुटी चोक, तलेजु मन्दिर नजिकैको सानो मन्दिर, तलाजु टेराकोटा तोरण, प्रताप मल्लको सालिक, कणेल चोकको पुनः निर्माण पनि सकिएको छ । ऐतिहासिक गद्दी बैठक अमेरिकी सरकारको सहयोगमा पुनर्निर्माण सम्पन्न भई सर्वसाधारणका लागि खुला गरिएको छ ।
हाल पुनर्निर्माण भइरहेका सम्पदाको काम पूरा नभई अन्य काम सुरु गर्न नमिल्ने र केहीको हकमा स्थानीयले रोकेकाले पुनर्निर्माण को काम अघि बढाउन नसकिएको प्रमुख खनालले जानकारी दिए ।
काम सुरु हुन नसेका २३ सम्पदामा मोहनचोक, सुन्दरीचोकसहित यस चोकचित्र रहेका अन्य केही सम्पदा छन् ।
त्यसैगरी आगम्छे घरको पुनर्निर्माण काम सुरु हुन सकेको छैन भने उक्त सम्पदाको काम नसकी मोहन चोक र सुन्दरी चोकको काम अघि बढाउन नसकिने उनको भनाइ छ ।
त्यस क्षेत्रमा रहेका कालिका मन्दिर र लक्ष्मीनारायण सत्तलको काम स्थानीयको अवरोधका कारण रोकिएको हो ।
यस क्षेत्रको सम्पदा पुनर्निर्माण पुरातत्व विभाग, चीन सरकार, जापानी सहयोग नियोग (जाइका), बाग्मती प्रदेश पूर्वाधार विकास कार्यक्रम, काठमाडौँ महानगरपालिका, केही स्थानीय गुठीमार्फत् काम भइरहेको छ ।
प्रताप मल्लले विसं १७२९ मा दरबारको मुख्य प्रवेशद्वार नजिकै हनुमानको मूर्ति स्थापना गराएपछि हनुमान ढोका दरबार नाम रहन गएको हो ।