काठमाडौँ । नेपाल टी–२० लिगका लागि व्यापारिक र रणनीतिक साझेदारी सम्झौता एकतर्फी रद्ध गर्ने विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसविरुद्ध नेपाल क्रिकेट सङ्घ (क्यान)ले कानूनी प्रक्रिया सुरु गर्ने योजना बनाएको छ ।
मङ्गलवार क्यान र राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई चिठ्ठी पठाएर सेभेन थ्रीले सम्झौता रद्ध गरेको जनाएको थियो । क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंहका अनुसार क्यानले सेभेन थ्रीसँग नेपाल टी-२० को ८ संस्करणका लागि सम्झौता गरेको छ । त्यसअनुसार क्यानले ३३ करोड रुपैयाँ पाउनेछ । पहिलो संस्करणबापतको ३ करोड ९० लाखमध्ये अहिलेसम्म २ करोड २० लाख रुपैयाँ जम्मा गरेको छ ।
त्यसबाहेक सेभेन थ्रीसँग सम्झौता गरेका फ्रेन्चाइज टिमहरूमध्ये अधिकांशले अहिलेसम्म खेलाडीलाई पूरा पारिश्रमिक दिएका छैनन् ।
प्लेयर अफ द म्याचसहित प्रतियोगिताको पुरस्कार रकम पनि सेभेन थ्रीले नै दिनुपर्ने सम्झौता छ । प्रतियोगिताको कुल पुरस्कार राशि १ करोड २५ लाख रुपैयाँ हो ।
मङ्गलवार सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालियाले टेलिफोन सम्पर्क गरी छलफल गर्न समय मागे पनि आफूले क्रिकेट सङ्घले पाउनुपर्ने सबै रकम पाएपछि मात्र कुराकानी गर्ने जवाफ दिएको सिंहले जानकारी दिए ।
सिंहले सेभेन थ्रीसँगको बक्यौता रकम उठाउन कानूनी प्रक्रियामा जानुपर्ने अवस्था हुन लागेको सङ्केत गरेका छन् ।
क्यानको साधारणसभा १४-१५ फागुनमा सुर्खेतमा हुनेछ । प्रतियोगिताको मुख्य साझेदार कम्पनी नै लाइभ बेटिङ र स्पट फिक्सिङमा संलग्न रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सार्वजनिक गरिसकेको छ । सेभेन थ्रीका मालिक जतिन र सिइओ अभिषेक सक्लानी प्रहरीको फरार सूचीमा छन् ।