काठमाडौँ । श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन परराष्ट्र मन्त्री विमला राई पौड्याल बिहीबार कोलम्बो जाँदै छिन् । विदेशमन्त्री एमयूएम अली सब्रिलेको निम्तोमा परराष्ट्र मन्त्री पौड्याल श्रीलङ्का भ्रमणमा जान लागेकी हुन् ।
उनको यो पहिलो विदेश भ्रमणमा हुनेछ । भ्रमणको बारेमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइएको छ ।
परराष्ट्र मन्त्रालयले उनको भ्रमणको कार्यतालिका तयार पारेको छ । भ्रमणको क्रममा राजनीतिक भेटघाट गर्नुका साथै महत्त्वपूर्ण अवसरहरूमा सहभागी हुने कार्यक्रम छ ।
२ फेब्रअरीमा गएर ३ फेब्रअरीदेखि उनको कार्यक्रम सुरु हुनेछ । ३ तारिखमा पहिलो पटक आफ्ना समकक्षी सब्रिलेसँग भेटवार्ता हुने कार्यतालिका छ । भेटपछि स्वागत लञ्चको कार्यक्रम हुनेछ । जसमा मन्त्री पौडेलसहित सबै सहभागी विदेशमन्त्रीहरुको सहभागिता रहनेछ ।
त्यसपछि ३ तारिखकै दिउँसो श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणावर्धनेसँग शिष्टाचार भेट हुनेछ । बेलुका स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछिन् ।
४ तारिखको बिहान श्रीलङ्काको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा सहभागी हुनेछिन् । त्यो दिनको मुख्य कार्यक्रम सकिएपछि दिउँसो श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेट हुनेछ ।
स्वतन्त्रता दिवसको राति राष्ट्रपति रणिलले रात्रि भोजको आयोजना गरेका छन् । राष्ट्रपति भवनमा आयोजित भोज कार्यक्रममा मन्त्री पौडेल पनि सहभागी हुनेछिन् । त्यो बीचमा दक्षिण एसियाली राष्ट्रबाट सहभागी विदेशमन्त्रीहरुसँग भेटवार्ता गर्ने तयारी पनि भइरहेको छ ।