काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको आरोप लगाएका छन् । नेपाली काँग्रेस बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ कार्यसमितिले आयोजना गरेका एक कार्यक्रममा बोल्दै नेता कोइरालाले जनतामा झनै निराशा बढेर गएको टिप्पणी गरे ।
उनले सरकार गम्भीर नभए मुलुकमा अझै ठुलो आर्थिक सङ्कट निम्तिने चेतावनीसमेत दिए । ‘आर्थिक समस्याकै कारण उद्योगी व्यवसायीहरूले आत्महत्या गरिरहेका छन्,’ कोइरालाले थपे, ‘यो मुलुकका लागि राम्रो सङ्केत होइन ।’
आर्थिक समस्या समाधानका लागि सबै दलले साझा धारणा बनाएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । त्यस्तै राष्ट्रपतिको निर्वाचनमा काँग्रेसले उम्मेदवारी दिने उनको भनाइ थियो ।
कोइरालाले सत्तामा नहुँदा काँग्रेस कमजोर भयो भन्ने मानसिकता त्याग्न नेता कार्यकर्तालाई आग्रहसमेत गरे । प्रतिनिधिसभा सदस्यसमेत रहेका कोइरालाले आन्तरिक कलहले मात्रै पार्टी कमजोर हुने जिकिर गरे ।