विराटनगर । मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ ।
औषधि खुवाउन करिब दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । मोरङको कुल जनसङ्ख्या ११ लाख २८ हजार रहेकामा ८० प्रतिशत नागरिकलाई औषधि खुवाइने जनस्वास्थ्य कार्यालयका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।
मोरङमा यस अघि ११औँ पटकसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइएको थियो । ‘सफलता प्राप्त नभएपछि १२औँ पटक औषधि खुवाउन लागेका छौँ’, प्रमुख मेहताले भने- ‘यो अभियान १४ दिनसम्म सञ्चालन गर्छौँ ।’ गर्भवती, छारे रोग भएका, सात दिनका सुत्केरी, सिकिस्त बिरामीबाहेक दुई वर्षमाथिका सबैले जुकाको औषधिसहित तीन प्रकारको औषधि खानुपर्ने हुन्छ ।