बागलुङ । बागलुङ बजार निकै सानो छ। यहाँका सडक तथा फुटपाथ पनि साँघुरा छन्।
अव्यवस्थित रूपमा चल्ने सवारी साधन र व्यापारीका फुटपाथमा राखिएका सामानले पैदल यात्रु मारमा पर्दै आएका छन्।
मध्य पहाडी लोक मार्गले बागलुङ बजार त जोडिएको छ तर मुख्य सडकभन्दा बाहिर यो सडक पर्छ। बिहान ८ देखि १० र साँझ ४ देखि ६ बजेसम्म बागलुङ बजारका मुख्य तथा सहायक सडकमा यात्रा गर्न निकै कठिन हुने गर्छ। यसको कारण हो जथाभाबी रूपमा स्कुल बस चल्नु।
बागलुङका सरकारी तथा निजी विद्यालयले लामो समयदेखि मापदण्ड विपरीत स्कुल बस सञ्चालन गर्दै आएका छन्। सिट क्षमताभन्दा बढी चढाउँदा बालबालिकाले सास्ती भोग्नु पर्छ। ‘स्कुल बस निर्देशिका २०७४’ ल्याएको ५ वर्ष बितिसक्दा पनि बागलुङ कार्यान्वयन हुन सकेको छैन। विद्यालयले निर्देशिकाका सामान्य नियम पनि मान्दैनन्। कार्यान्वयन गराउने प्रहरी र प्रशासन मूकदर्शक छन्। जिल्लाका ५९ निजी विद्यालयमध्ये अधिकांशमा विद्यालय बस छन्। तर कसैले पनि निर्देशिका पालना गरेको पाइँदैन।
स्थानीय दयाराम पौडेलले विद्यालयहरूले बस सञ्चालन गर्दा निश्चित ठाउँ तोक्ने र सोही स्थानबाट विद्यार्थी चढाउने तथा झार्ने गरे बजारमा दुर्घटना जोखिम कम हुने र ट्राफिक व्यवस्थापनमा सहज हुने बताए। पौडेलले साँघुरो बजारमा दर्जनौँ स्कुल बस जथाभाबी रूपमा चलाउँदा व्यवसायी पनि समस्यामा पर्ने गरेको बताए
पौडेल भन्छन्, ‘यहाँका बोर्डिङ स्कुलहरूमा अस्वस्थ प्रतिस्पर्धा छ, एक त बागलुङ बजार साँघुरो छ, त्यसमाथि दर्जनौँ स्कुल बस एकै समयमा सञ्चालन हुँदा पैदल यात्रुलाई निकै समस्या छ, कुन बेला दुर्घटना हुन्छ, भन्नै सकिन्न, बालबालिकालाई त सडक बाहिरी छोड्नै नहुने भयो, अझ पसल अगाडि आएर घण्टौँ बस रोक्छन्, त्यसले गर्दा व्यवसायीसमेत समस्यामा पर्ने गरेका छन्।’
स्थानीय प्रवेश पौडेलले सम्बन्धित निकायले जथाभाबी रूपमा चल्ने स्कुल बसलाई व्यवस्थापन गर्न नसके ठुलो दुर्घटना व्यहोर्नु पर्ने बताए। उनले साँघुरो सडकमा पनि स्कुल बस तीव्र गतिमा चल्ने गरेको भन्दै यसलाई स्थानीय सरकारले नियमन गर्नुपर्ने बताए।
‘यति साँघुरो सडकमा पनि विद्यालयमा भ्यान र बसहरू जबरजस्ती कुद्छन्, सीमित गतिमा गुडे पनि हुन्थ्यो, स्कुल बस हिँड्ने सडकमा यात्रु हिँड्न निकै जोखिम छ। बसले कति बेला कसलाई किच्छ थाहा छैन,’ पौडेलले भने, ‘यहाँ स्कुल बसको ज्यादती बढी भयो। यसतर्फ स्थानीय सरकारले ध्यान दिनु पर्छ।’
हरेक सवारी साधनमा आपत्काल ढोका रहनुपर्ने, ढोका लगाएर सवारी चलाउनुपर्ने, प्राथमिक उपचार बक्स र अग्नि नियन्त्रण उपकरण राखिनुपर्ने नियम छ। निर्देशिका अनुसार हरेक गाडीले फोहोर फाल्ने बाल्टी भित्रै राख्नुपर्ने, सवारी जाँच पास प्रमाणपत्रसमेत साथैमा राखिनुपर्ने उल्लेख भए पनि यहाँ त्यस्तो पाइँदैन।
अमर आदर्श आवासीय माविका सह प्राचार्य कमल पन्तले साँघुरो सडकमा स्कुल बस चलाउन विद्यालयलाई पनि समस्या भएको बताए। उनी आफूहरूले संयमित भएर बस चलाउने गरेको बताउँछन्।
‘स्कुल सञ्चालकलाई पनि समस्या छ। नर्सरीदेखि ११–१२ सम्म पढ्ने विद्यार्थीहरू हुन्छन्। उनीहरूलाई ल्याउनु–पुर्याउनु पर्छ। सडकमा चल्ने अन्य गाडीले पछिबाट पेल्न खोज्छन्। तर बस चलाउँदा हामीहरूले ध्यान पुर्याएका छौँ’, पन्तले भने।
ट्राफिक प्रहरीले एकतर्फ तथा ठुला सवारी साधना निषेध भनेको सडकमा पनि स्कुल बस चल्छन्। बागलुङ नगरपालिकाका नगर शिक्षा प्रमुख धनप्रसाद पोखरेलले विद्यार्थी बसमा चढाउने र ओराल्ने विषयमा छलफल गरेको भन्दै अब निश्चित स्थान बस बिसौनी बनाउने बताउँछन्।