काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ रहेको बताएका छन्।
उनले २१ औँ शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विषय बनेको उल्लेख गरे। उनले विश्वमा भइरहेको सूचना र प्रविधिको विकासलाई मध्यनजर गरी नेपालका सञ्चारमाध्यमले पनि सञ्चारमाध्यमहरूलाई समय र युग सुहाउँदो रूपमा थप अद्यावधिक गर्न आवश्यक रहेको बताए।
प्रधानमन्त्री दाहालले सञ्चारमाध्यमले आफ्ना सेवालाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताए। उनले कुनै पनि नागरिकलाई सूचना दिनु भनेको लोकतन्त्रप्रतिको आस्था र जनताको मौलिक हकको सम्मान गर्नु भएको उल्लेख गर्दै लोकतान्त्रिक शासन प्रणाली भए मात्रै प्रेस स्वतन्त्रता सम्भव रहेको बताए।
‘अब सूचना प्रविधिभन्दा बाहिर कुनै विषय र मुद्दा छैन। आजको २१ औँ शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विषय बनेको छ। विश्वमा भइरहेको सूचना र प्रविधिको विकासलाई मध्यनजर गरी हामीले पनि आफ्ना सञ्चारमाध्यमलाई समय र युग सुहाउँदो रूपमा थप अद्यावधिक गर्न आवश्यक छ,’ उनले भने, ‘जतिसक्दो सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्नुपर्छ। सञ्चारमाध्यमले आफ्ना सेवालाई चुस्त दुरुस्त बनाउन आवश्यक छ। कुनै पनि नागरिकलाई सूचना दिनु भनेको लोकतन्त्रप्रतिको आस्था र जनताको मौलिक हकको सम्मान गर्नु हो। वर्तमान सरकार यसमा अडिग छ। वर्तमान सरकार नागरिकको विचार अभिवृद्धिको सम्मान गर्छ। पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ छ।’
प्रधानमन्त्री दाहालले पछिल्लो दुई दशकमा विश्वमा सूचना प्रविधिको विकासलाई लिएर चौथो औद्योगिक क्रान्तिको रूपमा संश्लेषण गर्न थालेको बताए।